Logo

२० चैत, वीरगञ्ज । नेपालको आर्थिक मेरुदण्ड मात्र नभई ऐतिहासिक सामाजिक आन्दोलनहरूको केन्द्रबिन्दु रहँदै आएको वीरगञ्जमा पहिलो पटक ‘मधेश साहित्य महोत्सव’ आयोजना हुन गइरहेको छ। मधेश क्षेत्रको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २२ र २३ गते यो महोत्सवको आयोजना गरिँदैछ। नेपालका २२ वटा तराई-मधेशका जिल्लाहरूको कला, भाषा, संस्कृति र साहित्यलाई समेट्दै विस्तारित गर्ने परिकल्पनासहित यो महोत्सव हुन लागेको हो।

महोत्सवबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष गणेश लाठले वीरगञ्जले सामाजिक सुधार र आन्दोलनहरूको अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। प्रजातान्त्रिक आन्दोलनदेखि मधेश आन्दोलनसम्म, नागरिक अधिकारका आवाजहरूदेखि औद्योगिक एवं व्यापारिक विकाससम्म वीरगञ्जको विशेष योगदान रहेको उनको भनाइ थियो।

लाठले भने, “अब साहित्य र संस्कृतिको प्रवर्द्धन गर्दै नवीन विचारहरूको आदान-प्रदान गराउन तथा नवोदित प्रतिभाहरूलाई प्रोत्साहित गर्न यो महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।”

साहित्य केवल शब्दहरूको संयोजन नभई समाजको ऐना भएको उल्लेख गर्दै आयोजकहरूले यस महोत्सवले नेपाली साहित्यको विविधता उजागर गर्ने, मधेशी समाजका मुद्दाहरू उठाउने र साहित्यिक पुनर्जागरण ल्याउने बताए। महोत्सवमा ख्यातिप्राप्त साहित्यकार, कलाकार, पत्रकार, युवा सर्जक एवं सामाजिक अभियन्ताहरूले आफ्ना विचार, अनुभूति र सिर्जनाहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

महोत्सवमा बहस, अन्तरक्रिया, कविता वाचन, साहित्यिक प्रस्तुति एवं सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्, जसले मधेशको साहित्यिक परम्परालाई एकीकृत गर्ने लक्ष्य राखिएको छ। आयोजकहरूले भविष्यमा महोत्सवलाई अझ व्यापक बनाउने योजना रहेको जानकारी दिए।

यस महोत्सवलाई सफल बनाउन नागरिक समाज, सञ्चार माध्यम, स्थानीय निकाय, युवा स्वयंसेवक एवं विभिन्न संघ-संस्थाहरूले महत्वपूर्ण सहयोग प्रदान गरिरहेका छन्। वीरगञ्ज महानगरपालिका, मधेश विश्वविद्यालय, व्यापारिक प्रतिष्ठानहरू, वित्तीय एवं बीमा क्षेत्रका संस्थाहरू, शैक्षिक संघ-संस्थाहरू, कला तथा सांस्कृतिक निकायहरू, पत्रकार महासंघ एवं सञ्चारकर्मीहरू प्रति आयोजकहरूले विशेष आभार व्यक्त गरेका छन्।

नेपालको साहित्यिक क्षेत्रलाई नयाँ परिप्रेक्ष्य प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘मधेश साहित्य महोत्सव’ मधेशको गौरवशाली इतिहास, वर्तमान सम्भावना र भविष्यका योजनाहरूलाई उजागर गर्न महत्वपूर्ण सावित हुने विश्वास लिइएको छ।

यसै अवसरमा आयोजकहरूले सम्पूर्ण साहित्यप्रेमी, कलाकर्मी, समाजसेवी, विद्यार्थी एवं वीरगञ्ज तथा मधेशको पहिचानप्रति गर्व गर्ने सबैलाई यस ऐतिहासिक साहित्य महोत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।


सम्बन्धित समाचार