
२० चैत, काठमाडौं । विद्यालय शिक्षा विधेयक संसद्को हिउँदे अधिवेशनमा नल्याई अन्त्य गरिएको भन्दै नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गर्दैछ। महासंघले देशभरका शिक्षकलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।
आन्दोलनको पहिलो दिन आज माइतीघरमा दिउँसो १ बजे भेला भएर नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्। बिहीबारदेखि भने हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षकहरूलाई विद्यालय पोशाक र परिचयपत्रसहित सहभागिता जनाउन महासंघले आग्रह गरेको छ।
महासंघका अध्यक्ष सुवेदीका अनुसार आन्दोलनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आज बिहान ८ बजे बुद्धनगरमा जिल्ला तथा प्रदेश आन्दोलन परिचालन समितिको बैठक बस्नेछ। महासंघले स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी-करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरूको सबै समस्या समाधान गर्न विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ।
नेपाल शिक्षक महासंघ र सरकारबीच विगतमा भएका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने महासंघको प्रमुख माग रहेको छ। महासंघले सरकारलाई तत्काल शिक्षा ऐन जारी गर्न आग्रह गर्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ।