Logo

२० चैत,वीरगञ्ज । वीरगन्ज, चैत २० गते। मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर पूर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा भएका विभिन्न योजनासँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएको छ।

अख्तियारको टोलीले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्मका योजनासँग सम्बन्धित कागजात र फाइलहरू अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

विशेष गरी, स्वच्छता अभियानमा अनियमितता भएको गुनासो आएपछि तत्कालीन मुख्यमन्त्री राउतले उक्त कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरेका थिए। अख्तियारको टोलीले दुई वर्षको स्वच्छता अभियान तथा सफ्टवेयर खरिदसम्बन्धी सम्पूर्ण फाइलहरू नियन्त्रणमा लिएको छ।

स्रोतका अनुसार, निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम खरिदसम्बन्धी फाइलहरू समेत अख्तियारले अनुसन्धानका लागि लगेको छ। आर्थिक वर्ष २०७७/०७८ मा करिब एक करोडको लागतमा खरिद गरिएका सफ्टवेयरहरू अहिलेसम्म प्रयोगमा नआएको पाइएको छ। ती सफ्टवेयरहरू स्टोरमै रहेको देखिए पनि भुक्तानी भइसकेकाले अनियमितता भएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

त्यस्तै, अख्तियारले सुरक्षा उपकरण खरिदसम्बन्धी फाइलहरू समेत नियन्त्रणमा लिएको छ। अख्तियारका अनुसार, सम्बन्धित कारोबार पुरानो भए पनि तीन महिना अगाडि उजुरी परेकाले अनुसन्धान अघि बढाइएको हो।

राउत नेतृत्वको सरकारले सुरु गरेका बेटी पढाउ, बेटी बचाउ कार्यक्रम र स्वच्छता अभियान प्रारम्भमा प्रशंसित भए पनि पछि साइकल खरिदमा भ्रष्टाचार भएको पुष्टि भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।


सम्बन्धित समाचार