
२० चैत,काठमाडौं । यही चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा जिउँदै जलाएर हत्या गरिएका एभिन्यूजकमी सुरेश रजकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।
त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको मृत्यु पूर्ण रूपमा जलेर भएको पुष्टि भएको छ । “उहाँको शरीरमा गोलीको कुनै निशान भेटिएन। बाहिर हल्ला भएजस्तो मारेर जलाइएको भन्ने प्रमाण पोस्टमार्टम रिपोर्टमा देखिएन,“ चिकित्सकले जानकारी दिए ।
पोस्टमार्टम रिपोर्टका अनुसार श्वासप्रश्वास नलीमा धुँवाको अंश भेटिएको छ, जसले आगलागी हुँदा रजक जीवितै रहेको संकेत गर्छ । “जब आगो लाग्यो, उहाँ जीवितै हुनुहुन्थ्यो, जसका कारण श्वासप्रश्वास प्रणालीमा धुँवा पसेको देखिन्छ,“ चिकित्सकले थपे ।
हाल रजकको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ । चिकित्सकका अनुसार परिवारले केही समयमै शव लैजाने बताएका छन । रजकको आजै शोभा भगवतीमा अन्त्येष्टि गरिनेछ ।
दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि भएको आन्दोलनमा समाचार संकलन गर्न गएका बेला रजकको तीनकुनेस्थित एक स्थानीयको घरमा आगलागी हुँदा निधन भएको थियो ।