
२० चैत,काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई सरकारले राहतस्वरूप जनही १० लाख रुपैयाँ दिने भएको छ।
गृहमन्त्री रमेश लेखकले बुधबार सरकारको राहत कोषबाट उक्त रकम पीडित परिवारलाई उपलब्ध गराउने निर्णय गरेका हुन्।
शुक्रबारको घटनामा पत्रकार सुरेश रजकको आन्दोलनकारीले आगो लगाएको घरमा जलेर मृत्यु भएको थियो। त्यस्तै, कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागेर ज्यान गएको थियो।
यसैबीच, गृहमन्त्री लेखकले पत्रकार र मिडिया हाउसको सुरक्षाका लागि समेत संवेदनशील भएर काम गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन्।