
२० चैत,काठमाडौं । गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिका झोरबाट बरामद भएको करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीले दुई साता लामो अनुसन्धानपछि २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको निष्कर्ष निकालेको हो। यसअघि पनि रक्तचन्दन तस्करी लगायतका अवैध कारोबारमा मुछिएका पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको प्रहरीको आशंका छ।
अनुसन्धानका क्रममा पौडेलका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि यसअघि चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएको खुलेको छ। राजकुमार पौडेल २०७४ सालमा भोटेकोशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए भने २०७९ मा कांग्रेससँग पराजित भएका थिए। नारायण पौडेल पनि माओवादीमा आबद्ध रहेको बताइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल नै उक्त ठूलो परिमाणको विदेशी मुद्राको मालिक भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरिसकेको छ।
गत चैत ४ गते राति ११ बजे प्रहरीले टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रकबाट करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको थियो। सो क्रममा ट्रक चालक सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय कुसाङ लामा पक्राउ परेका थिए।
प्रहरीले बरामद गरेको मुद्रामा १ सय दरका ३ हजार १ सय १९ अमेरिकी डलर, ५० दरका १७९ अमेरिकी डलर, ५ सय दरका ११ युरो, २ सय दरका ४८० युरो, १ सय दरका ४ हजार १४८ युरो र ५० दरका १७ हजार १७७ युरो रहेका छन्। प्रहरीले चालकको साथबाट दुई थान मोबाइल पनि बरामद गरेको थियो।