Logo

२१ चैत, काठमाडौं । उपत्यका लगायत देशका प्रमुख सहरमा वायु प्रदूषण खतराको तह नजिक पुगेको छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले वातावरण विभागले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले जारी गरेको सूचनामा सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिन, अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न, फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न, बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरुको विशेष हेरचाह गर्न र प्रदूषण बढेको बेला घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ ।

वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, आँखा पोल्ने, टाउको दुख्ने, छाती दुख्ने लगायतका स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । राष्ट्रिय विपद जोखिन न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो । काठमाडौ लगायतका केही स्थानमा धुवाँ सहितको बादल अझै केही दिनसम्म रहने मौसमविदहरुले जनाएको छ ।


सम्बन्धित समाचार