Logo

२१ चैत,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन मेयर बालेन शाहले नगर प्रहरी खटाएका छन् ।
तर, नगरपालिकाका कर्मचारी भने गुरागाईंको स्वागतका लागि तयार भएर बसेका छन् ।

अनियमितताको आरोपमा मेयर शाहले गुरागाईंलाई हटाएपछि महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । प्रशासकीय अधिकृत नहुँदा महानगरका काम प्रभावित भएका छन् भने कर्मचारीले तलब खान पाएका छैनन् ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको आरोप लगाउँदै बालेनले गत पुस ५ गते प्रशासकीय अधिकृतलाई हटाउने निर्णय गरेका थिए । तर, आन्तरिक छानबिनले उनी निर्दोष देखिएका थिए ।
त्यसपछि संघीय मामिला मन्त्रालयले गुरागाईंलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो ।

मन्त्रालयले खटाएको कर्मचारीलाई महानगरले हाजिर गर्न नदिने भनेपछि सरकारसँग महानगरको खटपट चलिरहेको छ ।कर्मचारी नदिएको भन्दै बालेनले सरकारविरुद्ध शृंखलाबद्ध स्टाटस लेखेका थिए । गुरागाईंलाई हटाउने बालेनको एकल निर्णयमा उपमेयर सुनिता डंगोल विपक्षमा थिइन् ।


सम्बन्धित समाचार