
२१, चैत वीरगञ्ज । ज्ञानदा एकेडेमी स्कूल, वीरगन्जमा बिहीबार एलकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित दिक्षान्त समारोहमा विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरी बिदा गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लिटिल बर्ड्स स्कूलका सञ्चालक विजय कुमार बल, विशिष्ट अतिथि एनवाईएफ च्याप्टर वीरगन्जका सदस्य तथा स्मार्ट किड्सका प्रिन्सिपल मनिषा सुनवार श्रेष्ठ, विद्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोइराला र सह–प्रधानाध्यापिका जागृति मिश्राले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक कोइरालाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूले बाल्यकालको महत्त्वपूर्ण चरण पार गरी शिक्षाको क्षेत्रमा बलियो जग बसालेको बताए। उनले विद्यालयले विद्यार्थीहरूको शिक्षा, अनुशासन, मनोरञ्जन, खेलकुद र स्वास्थ्यलाई ध्यानमा राखेर पठनपाठन गराउँदै आएको जानकारी दिए।
सह-प्रधानाध्यापिका जागृति मिश्राले विद्यार्थीहरूलाई विद्यालयको गहनाको संज्ञा दिँदै उनीहरूको सफलताको कामना गरिन्। उनले यस विशेष दिनलाई स्मरणीय बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।
कार्यक्रमको सञ्चालन शिक्षिका कोपिला शर्मा र पुष्पा क्षेत्रीले गरेका थिए।