
२१ चैत,जनकपुरधाम । मधेश प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामको सौन्दर्यीकरणलाई बहुवर्षीय योजनाको रूपमा अगाडि बढाउँदै सार्वजनिक शौचालय निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। प्रदेश सरकारले जनकपुरधामका मुख्य पर्यटकीय क्षेत्रहरूमा आधुनिक सुविधायुक्त शौचालय निर्माण गर्ने घोषणा गरेपछि स्थानीयवासी र पर्यटकहरू उत्साहित भएका छन्।
मुख्यमन्त्री सतिशकुमार सिंहले यस महत्वाकांक्षी योजना अन्तर्गत तीनवटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने जानकारी दिएका छन्। यी सुविधायुक्त शौचालयहरू जनकपुरधामको बस पार्क, राम मन्दिरको दक्षिणपट्टि र विश्वप्रसिद्ध जानकी मन्दिरको दक्षिण कुनामा निर्माण हुनेछन्।
मुख्यमन्त्री सिंहले जनकपुरधाममा आउने पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै यो योजना ल्याइएको बताए। उनले भने, ‘जनकपुरधाम एक महत्वपूर्ण धार्मिक र सांस्कृतिक गन्तव्य भएकोले यहाँ आउने भक्तजन तथा पर्यटकहरूलाई सफा र व्यवस्थित शौचालयको आवश्यकता महसुस गरिएको थियो। प्रदेश सरकारले यसै आवश्यकतालाई सम्बोधन गर्दै यो योजनालाई उच्च प्राथमिकता दिएको हो।’
यस योजनाको कार्यान्वयनका लागि आवश्यक टेन्डर प्रक्रिया समेत सुरु भइसकेको छ। मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायत सम्बन्धित निकाय र मन्त्रालयका प्राविधिक टोलीले यस कार्यलाई सहजीकरण गरिरहेका छन्। मुख्यमन्त्री सिंहले यस परियोजनालाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
यस परियोजना अन्तर्गत निर्माण हुने आधुनिक शौचालयहरूको आर्किटेक्चरल डिजाइन सार्वजनिक गरिएको छ, जसले स्वच्छता, सहज पहुँच र वातावरणमैत्री संरचनालाई प्राथमिकता दिएको छ। प्रदेश सरकारले आगामी वर्षहरूमा यस्ता सुविधाहरू प्रदेशका अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ।
जनकपुरधामको विकास र सौन्दर्यीकरणका लागि मधेश सरकारले लिएको यो कदमले नगरको स्वच्छता अभिवृद्धि हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। यस पहलले जनकपुरधामलाई थप आकर्षक र पर्यटक–मैत्री गन्तव्य बनाउने अपेक्षा गरिएको छ।