
२१ चैत,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिकाको शंकराचार्य गेट नजिकबाट विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पर्सा प्रहरीले भारतीय नम्बरको स्कारपियो गाडीबाट २२० ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूसँग विशेष सोधपुछ भइरहेको र अनुसन्धान जारी रहेकोले उनीहरूको नाम गोप्य राखिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए।
प्रहरी प्रवक्ता लम्सालका अनुसार, गए राति उनीहरूलाई पक्राउ गरिएको हो। ‘अहिले उनीहरूसँग विशेष सोधपुछ चलिरहेको छ, त्यसै कारण केही समयपछि सबै विवरण सार्वजनिक गर्नेछौं,’ उनले भने।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।