
२१ चैत,काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न एक चिनियाँ नागरिकलाई २० लाख ९२ हजार रूपैयाँसहित पक्राउ गरेको छ। बुधबार बेलुका साढे ५ बजेको समयमा काठमाडौंको महाबौद्धमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उक्त व्यक्ति पक्राउ गरेको हो।
पक्राउ पर्ने चिनियाँ नागरिकको पहिचान २६ वर्षीया रिक्से वाङ्मोका रूपमा भएको छ, जो चीनको तिब्बत क्षेत्रकी नागरिक हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए अनुसार, वाङ्मो स्थायी रूपमा भारतको हिमाचल प्रदेशस्थित जोगिन्दरनगरको सुजा गाउँमा बस्दै आएकी थिइन्।
प्रहरीले उनको साथबाट १ हजार दरका ११८३ थान नोट (जम्मा ११ लाख ८३ हजार रुपैयाँ), ५०० दरका नोटका १८१८ थान (जम्मा ९ लाख ९ हजार रुपैयाँ), र एक थान आईफोन पनि बरामद गरेको छ।
प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान गर्न थालेको छ।