
२२ वीरगञ्ज , बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। थाइल्याण्डको बैंककमा आयोजित सम्मेलनमा उनीसहित सदस्य राष्ट्रका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर हुनेछ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि सम्मेलनका कार्यसूचीहरु प्रस्तुत गरिनेछन्।
त्यसलगत्तै बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलंकाका प्रधानमन्त्री (आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने) हरुबाट सम्बोधन हुनेछ। सम्बोधन सकिएपछि कार्यसूचीहरु पारित गरिनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। यी सबै कार्यक्रमहरु बैंककस्थित होटेल साड्ग्रिलामा आयोजना हुनेछन्। प्रधानमन्त्री ओली थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन्।
बिम्स्टेक सम्मेलन सम्पन्न भएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारीहरु सहभागी छन्।