Logo

२२ चैत, काठमाडौं ।काठमाडौँ उपत्यकामा वायु प्रदूषण आज पनि खतरनाक तहभन्दा माथि रहेको छ। शुक्रबार बिहान नौ बजे गरिएको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) को मापनअनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण विश्वमै पहिलो स्थानमा पुगेको छ।

यतिबेला वायु प्रदूषणको दृष्टिकोणले भारतको राजधानी दिल्ली विश्वको दोस्रो स्थानमा छ भने पाकिस्तानको कराँची तेस्रो स्थानमा रहेको छ।

इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० रहेको छ। प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले ३४३ छ। त्यसैगरी वायु प्रदूषणको दृष्टिकोणले तेस्रो स्थानमा रहेको कराँचीको एक्यूआई १६६ रहेको छ।

चिकित्सकहरूले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यका लागि हानिकारक तहमा पुगेको बताएका छन्। विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुवाँका कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको विज्ञहरूले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीको माथिल्लो स्थानमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गर्दै आएको छ। चिकित्सकहरूले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन्।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ।

  • ५१ देखि एक सयसम्मको एक्यूआईलाई होसियार रहनु अथवा पहेंलो सङ्केत दिइन्छ।
  • एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ।
  • एक सय ५१ देखि दुई सयसम्मको एक्यूआईलाई अस्वस्थकर मानिन्छ।
  • दुई सय एकदेखि तीन सयसम्मको एक्यूआईलाई अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ।
  • तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।

काठमाडौँको वर्तमान एक्यूआई ३५० रहेकाले यो खतरनाक तहमा पुगेको छ। स्वास्थ्य विज्ञहरूले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परेमा उच्च गुणस्तरको मास्क प्रयोग गर्न उनीहरूको सुझाव छ।


सम्बन्धित समाचार