
२२ चैत,जनकपुर । मधेस प्रदेशसभामा जारी राजनीतिक गतिरोध अन्त्य गर्न आज पुनः सर्वदलीय बैठक बोलाइएको छ। प्रदेशसभा सचिवालयका अनुसार सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा सत्तापक्ष र विपक्षी दलका नेता तथा सांसदहरू सहभागी बैठक केहीबेरअघि सुरु भएको छ।
विभिन्न विषयमा छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। विशेषगरी जनता समाजवादी पार्टी र माओवादी केन्द्रले मुख्यमन्त्री सतिशकुमार सिंहले योजना खरिद बिक्री गरेको, कूटनीतिक मर्यादा विपरीत भारत भ्रमण गरेको र सशर्त अनुदान लगायतका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै चैत १० गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन्।
करिब १२ दिनदेखि प्रदेशसभामा जारी विवादका कारण महत्वपूर्ण कार्यसूचीहरू प्रभावित भएका छन्। आजको सर्वदलीय बैठकमा सहमति जुट्ने र सदनको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ। बैठकको विस्तृत विवरण आउन बाँकी छ।