Logo

२२ चैत,काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार संविधानको सीमाभित्र रहेर गरिने शान्तिपूर्ण भेला र प्रदर्शनको सम्मान गर्ने बताएका छन्। संसदको राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै उनले संविधानले नागरिकलाई स्वतन्त्र प्रदर्शन गर्ने अधिकार दिएको भए पनि अराजकता सिर्जना गर्ने गतिविधि भने स्वीकार्य नहुने स्पष्ट पारे।

मन्त्री लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक र अमर्यादित भएको उल्लेख गरे। उनले भने, “संविधानले स्वतन्त्र प्रदर्शनको अधिकार दिएको छ। सरकारबारे आफ्नो धारणा व्यक्त गर्न पाइन्छ, तर त्यो मर्यादित हुनुपर्छ।“ उनले सोही दिन भएको समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण रहेको तर तीनकुनेको प्रदर्शनमा वर्तमान संविधानलाई उल्ट्याउने र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने उद्देश्य देखिएको दाबी गरे।

गृहमन्त्री लेखकले संविधानको सीमाभित्र रहेर गरिएका शान्तिपूर्ण भेला र प्रदर्शनलाई सरकारले सधैँ सम्मान गर्ने बताए। तर, नागरिक अधिकारको चरम अवमूल्यन हुनेगरी संचार गृह, व्यापारिक केन्द्र, सवारी साधन र नेताहरूका निवासलाई लक्षित गरी तोडफोड गर्ने कार्य कुनै पनि राजनीतिक आदर्शबाट प्रेरित हुन नसक्ने उनको भनाइ थियो।

तीनकुनेमा भएको प्रदर्शनमा भीडलाई उत्तेजित बनाउने काम भएको पनि उनले बताए। “संसद भवन कब्जा गर्नुस् भनेर बोलेर भीडलाई उत्तेजक बनाउने काम भयो। निषेधाज्ञा तोड्ने गतिविधि भयो। त्यसपछि उत्तेजित भीड विभिन्न ठाउँमा आगजनी र तोडफोडमा उत्रियो,“ उनले भने। उनले घरभित्र मानिस भएको थाहा पाउँदा पाउँदै घरमा आगो लगाउने र दमकलमाथि ढुंगामुढा गर्ने जस्ता घटनाले असहज वातावरण सिर्जना गरेको बताए।


सम्बन्धित समाचार