
२२ चैत,वीरगञ्ज । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगञ्जमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्जका अस्पतालहरूमा बिरामीहरूको चाप बढेको र रगतको अभाव भएको महसुस गरी क्वाइनोनिया वीरगञ्ज चर्चको ख्रीष्टिय युवा समाजले उक्त कार्यक्रम आयोजना गरेको हो।
“रक्तदान जीवन दान, जीवन दान महादान“ भन्ने मूल नाराका साथ वीरगञ्ज महानगरपालिका–१६, अमरचोकस्थित क्वाइनोनिया वीरगञ्ज चर्चको हलमा कार्यक्रम सम्पन्न भएको थियो। क्वाइनोनिया वीरगञ्ज ख्रीष्टिय चर्चका पास्टर राजकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया रहेका थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। साथै, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, सामुदायिक प्रहरी सेवा कुम्हालटोलका सचिव श्रवन बहादुर रायमाझी, समाजसेवी राजेन्द्र भट्टराई लगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
सो रक्तदान कार्यक्रममा १९ महिलासहित ९३ जनाले आफ्नो अमूल्य रगत दान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज रेश्मकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले दिएको जानकारी अनुसार, रक्तदान गर्नेहरूमा दिपक साह, आयुष सिंह लामा, रोहन खड्का, कमला चौबे, स्नेहा मुरारका, विकास महर्जन, विशाल कुमार सिंह लगायतका व्यक्तिहरू रहेका थिए।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका मनिष साह र लिलाधर साहले प्राविधिक सहयोग प्रदान गरेका थिए।