Logo

२३ चैत, काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देशभर श्रद्धा र भक्तिका साथ मनाइँदैछ। यस अवसरमा घर–घरमा नवदुर्गा भगवतीको पूजा–आराधना गरिनुका साथै विभिन्न शक्तिपीठहरूमा विशेष पूजा आयोजना गरिएको छ।

वर्षमा चारपटक नवरात्र पर्नेमध्ये आश्विन र चैत्र नवरात्र विशेष मानिन्छन्। आश्विन शुक्ल पक्षमा मनाइने दसैँलाई बडादसैँ भनिन्छ भने चैत्र शुक्ल पक्षको अष्टमीलाई चैते दसैँ र नवमीलाई रामनवमीको रूपमा मनाइन्छ। चैते दसैँमा बडादसैँजस्तै जमघट, पूजा तथा बलि दिने परम्परा पनि कायम छ, यद्यपि अधिकांश घरमा टीका जमरा लगाउने चलन भने कम देखिन्छ।

चैते दसैँका अवसरमा उपत्यकाका गुह्येश्वरी, भद्रकाली, शोभा भगवती, नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, बिजेश्वरी, बज्रयोगिनी लगायतका प्रमुख शक्तिपीठमा विशेष पूजा आराधना गरिएको छ। त्यस्तै, उपत्यका बाहिरका मनकामना, गहवामाई, वागेश्वरी, चण्डेश्वरी, शैलेश्वरीलगायत मन्दिरहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।

चैत्र शुक्ल प्रतिपदादेखि नै हनुमानढोकास्थित दसैँघरमा घटस्थापना गरि दुर्गा सप्तशती (चण्डी) पाठ गरिँदै आएको छ। विसं २०६३ सम्म नारायणहिटी राजदरबार मातहत रहेको दसैँघर अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत छ।

धार्मिक विश्वासअनुसार, चैत्र नवरात्रमा देवीको आराधना गर्दा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ। यस पर्वले धार्मिक चेतना जगाउनुका साथै पारिवारिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने संस्कृतिक महत्व बोकेको छ।


सम्बन्धित समाचार