Logo

२३ चैत, ललितपुर । ललितपुर प्रहरीले बागमती गाउँपालिका–३ छपेलीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ । मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौं आइरहेको बीआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा प्रहरीले ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा उक्त लागुऔषध फेला परेको हो । प्रहरीले लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक रेग्मीले भने, “बिरामीलाई प्रयोग गरेर लागुऔषध ओसारपसार भएको देखिएको छ। कारोबारीहरूले आठ वर्षको बच्चा, १६ वर्षको युवा र बिरामी महिलालाई प्रयोग गरेको देखिन्छ। एम्बुलेन्स चालकसहित एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ र उनीहरूको साथबाट तीन थान मोबाइल सेट बरामद भएको छ।“

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार