Logo

२३ चैत,वीरगञ्ज । बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट ११.६८ किलोग्राम चरेस बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकललाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार चेकजाँचको क्रममा मोटरसाइकलको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध चरेस जस्तो देखिने पदार्थको पोका फेला परेको थियो । उक्त पदार्थलाई नेपाल सरकारद्वारा मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित ११.६८ किलोग्राम रहेको पुष्टि भएको छ ।

प्रहरीले लागुऔषध चरेस, मोटरसाइकल र मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ ब्रर्जबारे बस्ने ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही अगाडि बढाएको बारा प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार