
२४ चैत, वीरगञ्ज । आज देशभर रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरू त्रेतायुगमा अयोध्यामा जन्मिएका मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको स्मरण गर्दै पूजा, व्रत, रामायण पाठ तथा धार्मिक अनुष्ठानमा संलग्न छन् ।
हरेक वर्ष चैत शुक्ल नवमीका दिन मनाइने यस पर्वमा भक्तजन बिहानै नदी, ताल, कुण्डमा स्नान गरी व्रत बस्ने परम्परा छ । धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार रामनवमीले मानिसलाई रामको जस्तो मर्यादित, अनुशासित जीवनशैली र आदर्श राज्य सञ्चालनको प्रेरणा दिन्छ ।
नेपालको मिथिला क्षेत्र विशेषगरी जनकपुरधाममा यस पर्वको विशेष महत्त्व रहँदै आएको छ । जानकी मन्दिर परिसरमा आज विशेष मेला लागेको छ । हजारौँ श्रद्धालु भक्तजन, तीर्थयात्रीहरू भारतबाट समेत—जनकपुरधाम पुगेका छन् । उनीहरू गङ्गासागरमा स्नान गरी जानकी मन्दिरमा पूजा-अर्चना गर्दै राम–जानकीको स्मरणमा लीन देखिन्छन् ।
रामनवमी हिन्दू संस्कृतिमा जाग्रत नवरात्रको रूपमा पनि चिनिन्छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैं मानिन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ ।
पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।