
२४ चैत, सेढवा (पर्सा) । पर्सा जिल्लाको ग्रामीण क्षेत्र हाल वातावरणीय संकटको सामना गरिरहेको छ। पछिल्लो एक सातायता डढेलो, धुलो र धुवाका कारण वायु प्रदूषण तीव्र बनेको छ, जसले ग्रामीण जनजीवन कष्टकर बनाइरहेको छ ।
पर्सा र चितवन राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयअन्तर्गतका वन क्षेत्रमा लागेको डढेलोले धुवाको मात्रा अत्यधिक बढाएको छ । साथै, किसानहरूले गहुँबाली भित्र्याउँदा उडेको धुलो र गहुँको बोट (ठुटो) जलाउँदा निस्किएको धुवाले स्थिति झनै खराब बनाएको छ । लामो समयदेखि वर्षा नहुनु र सडकमा लगातार उठेको धुलोले प्रदूषणलाई झनै बढाएको स्थानीयवासीहरू बताउँछन् ।
जिराभवानी गाउँपालिका–४ का राजकुमार महतोका अनुसार, धुवा र धुलोका कारण आँखा पोल्ने, आँखा रातो हुने र श्वासप्रश्वासमा समस्या देखिएको छ । स्थानीय चौधरीले घरभित्रसमेत बस्न कठिन भएको बताएका छन् ।
प्रदूषणका कारण ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी र बीरगंज महानगरपालिका क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।
स्वास्थ्यमा देखिएको प्रभावबारे पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र यादवले भने, यो अवस्था मुटु, फोक्सो तथा दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगीहरूका लागि विशेष जोखिमपूर्ण छ। साथै आँखा रोगको सम्भावना पनि बढेको छ । उनले आँखा पोल्ने समस्या भएमा सफा पानीले धुन सुझाव दिएका छन्।
यस्तै, ठोरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेशराज थिङ्गले अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन, निस्कनुपरे मास्क, चस्मा र हेल्मेटको प्रयोग गर्न अनुरोध गरेका छन् । उनले कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गरे ।
सरकार र स्थानीय निकायले तत्काल राहत र दीर्घकालीन समाधानका उपायहरू अपनाउनु जरुरी देखिन्छ, किनभने प्रदूषणको यो लहर स्वास्थ्य र जनजीवन दुवैका लागि गम्भीर चुनौती बनेको छ ।