Logo

२४ चैत, चितवन । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारको कामलाई गति दिन केही समयका लागि गाडीको आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ ।

नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवाला निकायहरूको संयुक्त बैठकले यही चैत २७ गतेदेखि ३१ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सवारीसाधनबाहेकका गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीका अनुसार, सडक निर्माणमा तीव्रता ल्याउन यो अस्थायी रोक आवश्यक भएको हो। बैठकमा दुई जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिकाका मेयर, योजना प्रमुख, निर्माण व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए ।

हाल दाउन्ने क्षेत्रमा पहाड कटान, पर्खाल निर्माण र कल्भर्टको काम भइरहेको छ। पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार, सडकको १४ किलोमिटर दुर्गम खण्ड तीन लेनमा विस्तार हुँदैछ, जहाँ जोखिम उच्च मानिन्छ ।

नारायणगढ–बुटवल सडकको कुल ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर क्षेत्रमा सर्भिस लेनसहितको काम भइरहेको छ ।  १७ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यो आयोजना निर्धारित समयमा सम्पन्न नहुँदा म्याद तेस्रोपटक २०८२ साउनसम्म थपिएको छ ।

यस क्षेत्रका साँघुरा घुम्ती, अस्थायी डाइभर्सन र धुलाम्मे सडकले यात्रुहरूलाई अप्ठ्यारो बनाउँदै आएको छ ।  भत्काइएका संरचनाको समयमै पुनर्निर्माण नहुनु पनि समस्याको कारण हो ।

सडक विस्तार कार्य सम्पन्न भएपछि यात्रुहरूको सहजता, सडकको सुरक्षात्मक गुणस्तर र यातायात सेवामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।  यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र निर्माण अवधिमा संयमित रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार