
२४ चैत्र, वीरगञ्ज । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव, रामनवमीको पावन अवसरमा आज बिरगंजमा भव्य शोभा यात्रा निकालिएको छ। बिरगंज महानगरपालिका स्थित घडीअर्वाको ऐतिहासिक राममन्दिरबाट सुरु भएको यो शोभा यात्राले नगर परिक्रमा गर्दा सिंगो बिरगंज शहर भक्तिमय र उल्लासमय बनेको थियो।
आईतबार बिहानैदेखि भक्तजनहरुको उत्साहजनक उपस्थिति रहेको शोभा यात्रामा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह स्वयं सहभागी हुनुभएको थियो। उहाँसँगै मन्दिरका पूजारीहरू, विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरू र हजारौं नगरवासीहरूको सहभागिताले यात्रालाई थप भव्य बनाएको थियो।
शोभा यात्रामा सहभागी श्रद्धालुहरूले भजन–कीर्तन गाउँदै, धार्मिक झाँकी प्रदर्शन गर्दै भगवान् रामको महिमालाई गुञ्जाएका थिए। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको उत्साह र भक्तिभावले वातावरणलाई अलौकिक बनाएको थियो। सडकका दुवै किनारमा उभिएका नगरवासीहरूले श्रद्धापूर्वक यात्राको अवलोकन गरेका थिए।
रामनवमी हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण पर्व हो। यस दिन भगवान् विष्णुको सातौं अवतार मानिने श्रीरामको जन्म भएको विश्वास गरिन्छ। देशभरका राम मन्दिरहरूमा आज विशेष पूजा आराधना, रामायण पाठ र भजन कीर्तनका कार्यक्रमहरू आयोजना गरिएको छ। भक्तजनहरूले घरघरमा पनि भगवान् रामको पूजा गरी यो पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्।
धार्मिक मान्यता अनुसार भगवान् रामले आफ्नो जीवनमा सत्य, धर्म, नैतिकता र मर्यादालाई उच्च स्थान दिनुभएको थियो। यही कारणले उहाँलाई मर्यादा पुरुषोत्तमको उपाधि दिइएको छ। आजको यो भव्य शोभा यात्राले बिरगंजमा भगवान् रामको आदर्श र नैतिकताको सन्देशलाई थप उजागर गरेको छ। सम्पूर्ण नगरवासीको सक्रिय सहभागिताले रामनवमीको यो उत्सव साँच्चै नै अविस्मरणीय बनेको छ।