Logo

२४ चैत्र, र्सेढवा । छिमेकी राष्ट्र भारत बिहारको प्रसिद्ध तथा ऐतिहासिक आदिशक्ति मन्दिरमा आईतबार नेपाली परिवारले बलि चढाएपछि बैधानिक रुपले मेला शुरु भएको छ ।

पश्च्छिम चम्पारण जिल्लाको गौनाहा प्रखण्डको जमुनिया पञ्चायतमा ऐतिहासिक आदिशक्ति सहोदरामाईको मन्दिरमा आईतबारदेखि दश दिनका लागि मेला शुरु भएको हो ।

देवाढ गाँऊ स्थित सो मन्दिरमा हरेक बर्ष रामनवमी अर्थात चैत नवमीको अवसरमा मेला लाग्ने गरेको छ । यस मेलामा आदिशक्ति माँ सहोदराको पहिलो पूजापाठ तथा बलि नेपाली नागरिकका परिवारले दिने चलन रहि आएको छ ।

पहिलो पूजापाठ तथा बलि चढाउने पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नंं.– ५ देउरियाका दहित परिवार रहेको सो परिवारका महादेव दहितले बताए। यी परिवारमा जेष्ठताका आधारमा क्रमशः जयनारायण दहित, शिव दहित, शकर दहितको पूजा र बलि चढाउने परम्परा रहि आएको महादेव दहितले बताए।

ती परिवारका अधिकांश सदस्यहरु शनिवार नै मन्दिरमा पुगेर पाठपूजाका प्रक्रिया पूरा गरी आज बलिदान गरेपछि आमनागरिकहरुका लागि पाठपूजा तथा बलिदान शुरु गरिएको महादेव दहितले बताए।

आईतबार बिहानदेखि माताको भाखल अनुसार बोका, हाँस, कुखुरा लगायतका जीवहरुको बलि चढाईएको छ । ऐतिहासिक यस आदिशक्ति सहोदरामाई मन्दिरको उत्पति आदिवासी थारु समुदायको प्राचीन इतिहाससँग जोडिएका कारण यस मन्दिरमा प्राचीन कालदेखि नै थारु पुजारी बस्ने गरेको जमुनियाका अमित कुमार चौधरीले बताए।

मन्दिरमा माताको दर्शन गर्नका लागि भारत लगायत नेपालका पर्सा , बारा, रौटहट तथा चितवन जिल्लाका हजारौ नेपाली दर्शनार्थीहरुको भीड लाग्ने गरेको चौधरीले बताए।


सम्बन्धित समाचार