
२४चैत,काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा शनिबार एकैदिन ७ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । दशैं–तिहारपछि एकै दिन यति ठूलो संख्यामा भक्तजनको उपस्थिति पहिलोपटक देखिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार मात्रै ७ हजार १ सय ४६ जना दर्शनार्थी पाथीभरामा पुगेका हुन् । तिन हजार ७ सय ९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा चिसो मौसमको समयमा वर्षेनी भक्तजनको आगमन घट्ने गरेको छ । यो वर्ष सिचो सँगै केबलकार निर्माणका कारण उत्पन्न विवाद, बन्द लगायतले अघिल्लो वर्षको तुलनामा भक्तजनको संख्या घटेका छन ।
हाल पाथीभरा आउनजान केबलकारको विषयले कुनै असर नगर्ने र उक्त विषयलाई लिएर अन्योलमा नपर्न पनि समितिले आग्रह गरेको छ । पाथीभरा सिजनमा भक्तजनको भिडभाड हुने हुँदा कुनै समस्या परे पाथीभरा क्षेत्र विकास समिति सँग र पाथीभरा क्षेत्रमा रहेका सुरक्षा निकाय सँग सम्पर्क र समन्वय गर्न सकिने समितिले जनाएको छ ।