२४ चैत्र, वीरगञ्ज ।पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर १, भगवाननगरस्थित वृद्धाश्रममा उपकार सेवा नेपालले खाद्य तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको छ। आश्रममा आश्रित २२ जना अपाङ्ग, सुस्त मनस्थिति भएका, वृद्धवृद्धा, आमाबुवा तथा बालबालिकाहरूलाई लक्षित गरी संस्थाले चामल, दाल, चना, स्वाबिन, खानेतेल, नून, खुर्सानी, धनिया, जीरा, बेसार, सर्फ, साबुन, डाईपर र टूथपेस्ट लगायतका सामग्रीहरू प्रदान गरेको हो।
आश्रमको प्राङ्गणमा आयोजित एक कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य राम बहादुर थिङ्गलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेकी थिइन्। कार्यक्रममा बोल्दै अध्यक्ष सरावगीले संस्थाले प्रत्येक महिना आश्रमलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
आश्रमका सदस्य राम बहादुर थिङ्गले उपकार सेवा नेपालले पु¥याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यी सामग्रीहरू आश्रममा आश्रित सबैजनाको दैनिक जीवनयापनमा महत्वपूर्ण हुने बताए। उनले संस्थाको नियमित सहयोगले आश्रमलाई ठूलो टेवा पुगेको पनि उल्लेख गरे।
उपकार सेवा नेपालले असहाय तथा विपन्न वर्गलाई सहयोग गर्दै आइरहेको छ र ठोरीस्थित वृद्धाश्रममा गरिएको यो सहयोग त्यसैको एक निरन्तरता हो। संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई प्राथमिकता दिने जनाएको छ।

















