
२५ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरीतका सवारी साधनहरूलाई सञ्चालन गर्न नदिने दृढता व्यक्त गरेका छन्।
सोमबार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री दाहालले मापदण्ड विपरीतका गाडीका कारण यात्रुवाहक सवारी साधनमा समेत असर परेको बताए। उनले यस विषयमा गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइने जानकारी दिए।
मन्त्री दाहालले मालवाहक सवारी साधनको तौलपुलको समस्या समाधानका लागि सरकारले अध्ययन गर्न कार्यदल गठन गरेको र यो समस्या छिट्टै हल गरिने बताए। उनले मालवाहक गाडीको अनुगमन र कारबाही प्रक्रियामा प्रहरीको असहयोग रहेको आरोप लगाउँदै यस विषयमा पनि गृह मन्त्रालयसँग छलफल गरिने बताए। ‘पैसा खाएर ओभरलोडका गाडी चलाउन दिने विकृतिले सार्वजनिक सम्पत्ति नोक्सान भइरहेको छ,’ उनले भने।
उनले निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण बनाउने प्रतिवद्धता पनि जनाए। यद्यपि, स्तरोन्नतिको काम भइरहेको उक्त खण्डमा मर्मतसम्भारका लागि चैत २७ देखि ३१ गतेसम्म दिउँसो यातायात रोकिने निर्णयप्रति व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडकमा भइरहेको राजनीति अन्त्य गर्न आग्रह गर्दै यात्रुवाहक सवारी साधन चल्ने सडकमा प्राविधिक सहयोग गर्न मन्त्रालयसँग माग गरे। उनले देशभर सार्वजनिक सवारी साधनका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदै माग सम्बोधन नभए सडक आन्दोलनमा उत्रिने चेतावनी दिए।
महासंघका अध्यक्ष विजय स्वाँरले वायु प्रदूषण बढ्नुमा सार्वजनिक सवारी साधन मात्र नभई निजी र मोटरसाइकलको पनि उत्तिकै भूमिका रहेको बताए। उनले उपत्यकामा १० लाखभन्दा बढी मोटरसाइकल चल्ने गरेको तर त्यसको प्रदूषण मापन गर्ने मापदण्ड नभएको भन्दै तत्काल कार्यविधि बनाएर जाँच गर्न माग गरे।
व्यवसायीहरुले निर्माणाधीन सडकमा मालवाहक सवारी साधनलाई रोक लगाएर भए पनि सार्वजनिक सवारी साधन चल्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।