Logo

२५ चैत, काठमाडौं । वीरगञ्ज, २५ चैत ( चैत १५ गते कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओ फुटेजको आधारमा पहिचान गरी सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार तामाङले जडिबुटी चोकको ट्राफिक लाइट पनि फुटाएका थिए र उनै जडिबुटी उद्योगमा आगो लगाउँदै गरेको भिडिओमा देखिएका छन्।

यसअघि प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको थियो। अनुसन्धान कार्यालयले तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको जनाएको छ।

राप्रपा र दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो। प्रदर्शनकारीहरूले व्यक्तिका घर, सरकारी गाडी र निजी सवारी साधनमा तोडफोड तथा आगजनी गरेका थिए।

उनीहरूले विभिन्न स्थानका सीसीटीभी तोडफोड गर्नुका साथै भाटभटेनी कम्प्लेक्समा लुटपाट समेत गरेका थिए। यी घटनाहरूमा संलग्न रहेको आरोपमा प्रहरीले ७० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा पनि हाल हिरासतमा छन् भने प्रदर्शनका कमाण्डर तोकिएका दुर्गा प्रसाईं फरार रहेका छन्।

यसैबीच, काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले अभिनेत्री एनी कुँवरलाई पनि पक्राउ गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा कुँवर पत्रकार सुरेश रजकको जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिएको थियो।

घरमा आगजनी भएपछि उनले फेसबुक लाइभमार्फत ‘बचाउन आउनुहोला’ भनी आग्रह गरेकी थिइन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले कुँवरलाई ललितपुरबाट अनुसन्धानका लागि पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए। कुँवरले एक दशकअघि फिल्म ‘ब्रह्मा’बाट आफ्नो रजतपट यात्रा सुरु गरेकी थिइन्।


सम्बन्धित समाचार