Logo

२६ चैत,काठमाडौं । शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुले आज दिउँसो सांकेतिक विरोध प्रदर्शन गरेका छन्। बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले दिउँसै मोबाइलको टर्च बालेर सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनीहरुले छिटो शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नाराबाजीसमेत गरेका थिए। प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन केही समय प्रभावित भएको थियो। सुरक्षाका लागि उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन्। यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। शिक्षकहरुले यस आन्दोलनलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’को रुपमा लिएका छन्।

यसअघि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरिसकेका छन्। शिक्षकहरुको आन्दोलनका कारण यस वर्षको एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित हुने र नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता बढेको छ।

शिक्षकहरुले यसअघि आफ्ना मागहरुलाई सरकारसम्म पुर्याउन कालोपट्टी बाँध्ने, सिट्टी फुक्ने र मौन प्रदर्शन जस्ता विभिन्न तरिकाहरु अपनाएका थिए। आज उनीहरुले मोबाइल र हेडल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन्।


सम्बन्धित समाचार