Logo

२६ चैत,जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश भगवान राम र लक्ष्मणले ज्ञान आर्जन गरेको पवित्र भूमि भएको बताएका छन्। आज मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले मधेसलाई पुण्य, ध्यान र देवभूमि भन्दै यस क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वको चर्चा गरे। उनले यस्तो महत्वपूर्ण भूमिबाट अहिलेसम्म के उपलब्धि हासिल भयो भन्ने विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “मधेसबाट अनेक देउता, भगवान रामसहितकाले ज्ञान आर्जन गरेको यो पवित्र ठाउँ हो।“ प्रधानमन्त्री ओलीले मधेसले धेरै विद्वान, साहित्यकार, कवि तथा विज्ञहरु जन्माएको र यो क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित रहेको बताए।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अब सबै मिलेर मधेसका जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले गरिबी निवारणलाई पहिलो प्राथमिकता दिनुपर्ने र त्यसपछि मात्र जनताले राहत महसुस गर्ने बताए।


सम्बन्धित समाचार