
२६ चैत,वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले विद्युत सुरक्षा दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। प्राधिकरणले विद्युत सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरगंजमा उक्त कार्यक्रम गरेको हो।
वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेको अध्यक्षतामा सम्पन्न प्रभातफेरी पावरहाउस चोकबाट सुरु भई मुर्ली हुँदै घण्टाघरसम्म पुगेर पुनः पावरहाउस चोकमा आएर समापन भएको थियो। प्रभातफेरीमा सहभागी कर्मचारीहरुले विद्युत सुरक्षा सम्बन्धी नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए।
कार्यक्रममा विद्युत उपकरणहरुको सुरक्षित प्रयोग, विद्युत दुर्घटनाबाट बच्ने उपाय लगायतका विषयमा जानकारी गराइएको थियो। नेपाल विद्युत प्राधिकरण कर्मचारी सङ्घ बीरगञ्ज इकाई समितिका प्रमुख सन्तोष कुमार झाले कार्यक्रमबारे जानकारी दिएका थिए।
उक्त प्रभातफेरी कार्यक्रममा नेपाल विद्युत प्राधिकरण वीरगंज शाखाका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।