Logo

२६ चैत,जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिँदै लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आग्रह गरेका छन्। आज मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरेका हुन्।

प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति भएको उल्लेख गर्दै गरिबीका अगाडि अन्य अधिकारको अर्थ नहुने स्पष्ट पारे। उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जनताको संघर्षबाट प्राप्त भएको उपलब्धि भएकोले यसलाई जनताको सेवामा समर्पित गर्नुपर्ने बताए।

उनले भने, ‘हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ। परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ। जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ। त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ। सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ। त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ।’

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको प्रशंसा गर्दै यहाँका नागरिकले नेपालको राष्ट्रियता र अखण्डतामा पु¥याएको योगदानको उच्च मूल्यांकन गरे। उनले संविधानले प्रदेशलाई दिएको स्वायत्तताको सही उपयोग गर्नुपर्नेमा जोड दिए।

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी विकासका कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए। मधेश प्रदेश सम्भावनाहरूको उर्वर भूमि भएको र यहाँ कृषि, जडीबुटी तथा जलस्रोतको अपार भण्डार रहेको उनले उल्लेख गरे।

सुनकोशी डाइभर्सन आयोजना जस्ता कार्यक्रमले मधेशमा सिंचाई सुविधा पुग्ने र यसले राष्ट्रिय उत्पादन वृद्धिमा सहयोग पु¥याउने प्रधानमन्त्री ओलीले बताए। यसले पहाड र तराईबीचको एकतालाई थप बलियो बनाउने उनको भनाई थियो।


सम्बन्धित समाचार