
२६ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा अहिले पनि छुवाछुत, दाइजो र बोक्सीजस्ता कूप्रथा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले समाजमा चेतना फैल्याउन जरुरी रहेको बताए ।
मधेश प्रदेशसभा बैठकलाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै ओलीले अहिले पनि दाइजोका नाममा बेहुलाले मण्डप बहिष्कार गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । ‘विवाहको मण्डपबाट केटो हिँड्ने, मोटर साइकल दाइजो पाइँन भनेर जीवनसाथी छाडेर हिँड्छ । यस्तो कूचलन हटाऔं,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा पनि बोक्सीको नाममा अन्धविश्वास रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘अहिले पनि बोक्सीको कुरा आउँछन् । यदि बोक्सी हुन्थ्यो भने युद्ध किन हुन्थ्यो ? हतियार किन चाहिन्थ्यो ? त्यस्तो केही छ भने मलाई गाली गर्नुको सट्टा बोक्सी लगाइदिए भयो नि !,’ ओलीले भने, ‘यस्तो अन्धविश्वासको कुरा हुनेछ ? क नपढेको व्यक्तिले बिनाधनुष, बिनातीर हावामा वाण हान्दिने कुरा हुन्छ ?’
ओलीले मधेशमा अझै पनि छुवाछुत रहेको भन्दै जनचेतना जगाउन आग्रह गरे । ‘अन्यत्र कतै नहुने हाम्रोमा मात्र छुवाछुत किन हुन्छ ?,’ उनले प्रश्न गरे ।