
२६ चैत,वीरगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट आयात गरिएको चियामा रोक लगाएको छ। काभ्या भेन्चर्स प्रा. लि., ललितपुरले भैरहवा भन्सार नाकामा ल्याएको ९ कार्टुन (२३१ के. जी.) इन्स्ट्यान्ट चिया आयात गर्न नमिल्ने ठहर गर्दै विभागले रोक लगाएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बेलहिया, भैरहवाले उक्त चियाको जाँच विश्लेषण गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य लेबलमा उल्लेख गर्नुपर्ने उत्पादन मिति तथा ब्याच नम्बर नभएको पाइएको छ।
लेबलमा अनिवार्य विवरण उल्लेख नभएको कारण उक्त चिया आयात गर्न नमिल्ने भएपछि विभागले आयातमा रोक लगाएको हो। पैठारीमा रोक लगाइएको प्रतिवेदन सहित भैरहवा भन्सार कार्यालयलाई पठाइएको विभागले जनाएको छ।
यसैबीच, विभागले सम्पूर्ण खाद्य व्यवसायीहरुलाई प्याक गरिएको खाद्य पदार्थमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १९ बमोजिम खाद्य लेबलमा सम्पूर्ण विवरण उल्लेख गरेर मात्र उत्पादन, पैठारी एवं बिक्रीवितरण गर्न आग्रह गरेको छ।