
२७ चैत,वीरगञ्ज । बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २ किलो ९९ ग्राम अफिम बरामद गरेको हो।
पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–६, गम्हरिया निवासी सरोज प्रसाद साह रहेका छन्। बारा जिल्लाको अमलेखगञ्जबाट प्रहरीले साहलाई अफिमसहित पक्राउ गरेको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
प्रवक्ता पण्डितका अनुसार, अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको प्र.२–०३–००९ प ३८७८ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त मोटरसाइकलको सिटमुनी लुकाई राखिएको अफिम फेला पारेको हो।
प्रहरीले साहको साथबाट मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका साह र बरामद मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।