
७ चैत,जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सातादेखि मधेश प्रदेशमा ‘भण्डाफोर’ अभियान सुरु गर्ने घोषणा गरेको छ। मधेशको वर्तमान राजनीतिक व्यवस्थाका अस्वीकृत पक्षहरूलाई उजागर गर्ने र सरकारको कुशासन तथा भ्रष्टाचारका नकारात्मक प्रभावहरूलाई जनता समक्ष पु¥याउने उद्देश्यले पार्टीले यो अभियान थाल्न लागेको जनाएको छ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा रास्वपा मधेश प्रदेशका सभापति इन्जिनियर तपेश्वर यादवले पार्टीको उद्देश्य र आगामी योजनाबारे विस्तृत जानकारी गराए। उनले भने, ‘हामी व्यवस्थाविरुद्धको भण्डाफोर अभियानलाई मधेश प्रदेशका प्रत्येक स्थानीय तहबाट सुरु गर्नेछौँ। यो अभियानले सरकारको कुशासन र भ्रष्टाचारका दुष्परिणामहरूको पर्दाफास गर्नेछ।’
यादवका अनुसार यो अभियान मधेश प्रदेशका आठवटै जिल्लामा प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। ‘हामी हरेक जिल्ला र गाउँमा जनचेतना फैलाउने र जनतालाई जागरूक बनाउने कार्यमा संलग्न हुनेछौँ। यस अभियानको माध्यमबाट जनतालाई सरकारका गलत कार्यहरूका बारेमा जानकारी गराउनुका साथै उनीहरूको अधिकारको रक्षाका लागि आवाज उठाउन पनि प्रेरित गर्नेछौँ,’ उनले थपे।
यस अभियानसँगै रास्वपाले देशभरिका युवा शक्तिलाई प्रोत्साहन गर्ने र जन जागरण अभियानलाई अगाडि बढाउने लक्ष्य राखेको छ। इन्जिनियर यादवले पार्टीले युवाहरूलाई राजनीतिक, सामाजिक र नागरिक अधिकारका बारेमा शिक्षित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए। ‘हामी यो आन्दोलनलाई केवल राजनीतिक विरोधको रूपमा मात्र नभई एक सामाजिक जागरणको अवसरको रूपमा लिन्छौँ। हाम्रो मुख्य उद्देश्य जनतामा चेतना अभिवृद्धि गर्नु हो,’ यादवले भने।
त्यसैगरी, उनले पार्टी सभापति रवि लामिछानेमाथि गरिएको धरपकडप्रति कडा आक्रोश व्यक्त गरे। ‘राजनीतिक प्रतिशोधका आधारमा हाम्रो सभापति रवि लामिछानेलाई निशाना बनाइएको छ। सरकारका गलत कदमहरूको विरोध गर्न हामीले यो अभियानलाई अझ व्यापक बनाउने छौँ। यो केवल रास्वपाको विरोध मात्र नभई सम्पूर्ण लोकतान्त्रिक व्यवस्था र जनताको अधिकारको रक्षा गर्ने अभियान हो,’ यादवले स्पष्ट पारे।