Logo

२७ चैत,जनकपुर । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–७ मा आज बिहान दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, गोलबजारबाट कसाहातर्फ आइरहेको बा ४४ प १५६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स ५ प ७७४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

मृत्यु हुनेहरूमा सुखीपुर नगरपालिका–८ का ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका–१२ का २८ वर्षीय सन्तोषकुमार यादव रहेका छन्। सिरहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले दिएको जानकारी अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी, मोटरसाइकलमा पछाडि बसेका सिरहा नगरपालिका–१२ का २४ वर्षीय सिकेन्द्र यादव गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार उनको टाउको, हात र खुट्टामा चोट लागेको छ र उनको धनगढीमाई नगरपालिकाको मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार