Logo

२७ चैत,काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट ठूलो मात्रामा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ–८ घर भई काठमाडौं बस्ने ४५ वर्षीय अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने ३० वर्षीय सन्दीप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने ३३ वर्षीय आशिक सिंह रहेका छन्।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको टोलीले विशेष सूचनाको आधारमा बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट डाइजापाम, नुर्फिन र फेनारगन जस्ता लागूऔषध बरामद भएको छ।

सशस्त्र प्रहरीले पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार