Logo

२७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट सवारी करको ठेक्का लिएको नोभा ट्रेडिङ्गले भारतीय नम्वरका गाडीसँग अनाधिकृत रुपमा रकम असुल गरेको गाडी चालकहरुले गुनासो गरेका छन् ।

सवारी करको ठेक्का लिएको कम्पनीले नेपाली विल दिने र गाडी चालकसँग विलमा उल्लेख गरेको भारतीय रुपीयाँ उठाउने गरेको भारतीय गाडी चालकले बताएका छन् । उनीहरुका अनुसार ठेकदार कम्पनीले खाली गाडीसँग समेत रकम असुल्दै आएको छ ।

भारतको युपी २२ टि ५२२६ नम्वरको खाली गाडीसँग परवानीपुरमा रहेको ठेकदारका कर्मचारीले ३ सय भारतीय रुपियाँ लिएको चालक मनिष कुमारले बताए । उनले माल लिएर गएको समय र खाली गाडी लिएर आएको समयमा समेत ३÷३ सय भारतीय रुपियाँ उठाउने गरेको गुनासो गरे ।

ठेकदारका कर्मचारीले भनेको रकम नदिएमा ज्यान मार्ने धम्की दिने गरेको चालकहरुको भनाई छ । मालवहाक गाडी लिएर काठमाडौं वा पोखरा सम्म जादाँ वीरगञ्जमा मात्र यसरी दुख दिने गरेको अर्का भारतीय गाडी चालक सोनालाल ठाकुरले बताए । नेपालको हाइवेमा अन्यत्र यस्तो दुख दिदैन यहाँ (वीरगञ्ज)मा मात्र यस्तो हुने गरको छ, चालक ठाकुरले भने ।

वीरगञ्ज महानगरपालिकाबाट चालु आर्थिक बर्ष २०८१/०८२ को लागि सवरी कर ठेक्का वीरगञ्जको नोभा ट्रेडिङ्गले लिएको थियो । नोभा ट्रेडिङ्गले ६ करोड ७५ लाखमा उक्त ठेक्का सकार गरेको वीरगञ्ज महानगरपालिकाका राजश्व प्रशासन महाशाखाका प्रमुख मनोज कर्णले बताए । नोभा ट्रेडिङ्गका संचालक वीरगञ्जका सरिफ मियाँ हुन ।

प्रहरीका अनुसार वीरगञ्ज नाकाबाट मात्र दैनिक डेढ देखि २ सय सम्म भारतीय नम्वरका मालवाहक सवारी साधन गन्तब्य तर्फ जाने गरेका छन् । महानगरपालिकाले तोकेको दर रेट अनुसार प्रति सवारी ३ सय नेपाली रुपियाँ ठेकदारले लिनु पर्ने हो । तर भारतीय नम्वरका गाडीसँग आइसी रुपियाँका दरले उठाउदा दैनिक मालवहाक सवारीसँग ३० हजार र खाली गाडीबाट दैनिक ७५ हजार सरदर रकम उठाउने गरेको देखिन्छ ।

ठेकदार कम्पनीले भारतीय नम्वरका सवारी साधनबाट मात्र दैनिक एक लाखको हाराहारीमा अवैध रकम असुल्ने गरेको जानकारी सरोकारवाला निकायलाई छ । तर उनीहरुले पीडित पक्षले लिखित रुपमा उजुरी लिएर नआउने भएकोले ठेकदारलाई कार्वाही गर्न नसकिएको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र बताउछन् ।

भारतीय गाडीलाई ठेकदारले दुख दियो भनेर मौखिक उजुरी पर्ने गरेको र त्यसको आधारमा ठेकदार कम्पनीका कर्मचारीलाई पटक पटक पक्राउ समेत गरिएको एसपी मिश्रको भनाई छ । ठेकदार कम्पनीका विरुद्ध लिखित जाहेरी नपरेपछि पक्राउ परेका व्यक्तिहरुलाई समेत छोडनु परेको प्रहरी उपरिक्षक मिश्रले बताए ।

सवारी करको ठेक्काको विषयमा धेरै गुनासो प्रहरीकोमा आउने गरेको तर लिखित जाहेरी लिएर पीडित पक्ष नआए सम्म कार्वाही गर्न नसकिने प्रहरी उपरिक्षक मिश्र बताउँछन् । यसमा वीरगञ्ज महानगरपालिकाले नै अनुगमन गर्नुपर्ने मिश्रको सुझाव छ । ठेकदारले कुन सवारीसँग कति रकम लिने हो, भारतीय सवारी साधनसँग कति लिन पाउँने हो भनेर सार्वजनिक रुपमा साइन वोर्ड राख्नु पर्ने उनको तर्क छ ।

वीरगञ्ज महानगरपालिकाका राजश्व प्रशासन महाशाखाका प्रमुख मनोज कर्णले भारतीय सवारी साधनसँग अनावश्यक रकम उठाएको गुनासो आफूसँग आउने गरेको बताए । यस्ता गुनासा आइरन्छन तर लिखित रुपमा कसैले उजुरी दिदैन, कर्णले भने । गुनासो आएपछि सवारी करका ठेकदार सरिफ मियाँलाई पटक पटक सचेत गराइएको कर्णले जानकारी दिए ।

यता सवारी करका ठेकदार सरिफ मियाँले आफू एउटा जरुरी बैठकमा रहेकोले सवारी करको बिषयमा केही बोल्न नसक्ने बताए । आफूले कसैसँग अनाधिकृत रकम उठाएको छैन, मियाँले भने, “म अहिले एउटा महत्वपूर्ण बैठकमा छु यस बारेमा केही भन्न सक्दिँन ।”

भारतीय गाडी चालकहरु वीरगञ्ज महानगरपालिकाको सवारी करका ठेकदारले गरेको दादागिरी र अनावश्यक रकम असुलीका सन्दर्भमा वीरगञ्जमा रहेको महावाणिज्य दुतावासमा समेत जानकारी गराएको बताउछन् । उनीहरुले महावाणिज्य दुतावासबाट समेत कुनै सुनुवाई नभएको गुनासो गरे ।


सम्बन्धित समाचार