
२८ चैत, काठमाडौँ । नेपाल बार एसोशिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानल नै विजयी भएको छ। मतगणना हुन बाँकी ललितपुर जिल्ला बारको ५६० मत मात्र गन्न बाँकी रहेको छ।
हालसम्मको मतगणना अनुसार कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक–प्रगतिशील गठबन्धनले सबै पदमा दोब्बर मतको अग्रता छ। बुधबारसम्मको मतपरिणाम अनुसार लोकतान्त्रिक(प्रगतिशील गठबन्धनतर्फबाट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले ४ हजार ८९२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायीको प्यानल व्यावसायिक कानुन व्यवसायी गठबन्धनका अध्यक्षका उम्मेदवार रमनकुमार श्रेष्ठले २ हजार २२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए।
यस्तै महासचिव पदमा पनि लोकतान्त्रिक प्रगतिशील गठबन्धनका केदार कोइरालाले ४ हजार ७०४ मत प्राप्त गर्दा व्यावसायिक कानुन व्यवसायीको गठबन्धनका यज्ञमणि न्यौपानेले २ हजार २९ मत प्राप्त गरेका छन्।
सबै पदमा सत्ता पक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली काङ्ग्रेसनिकट डीएलए गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन्। देशभर योग्य मतदाता ९ हजार ९९६ रहेकोमा लगभग ८० प्रतिशत ७ हजार ९९५ मत खसेको थियो। बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जनाबीच प्रतिस्पर्धा छ।
आजको मतगणना सुरु भइसकेको र दिउँसो १ बजेसम्म सबै गणना सकेर अन्तिम मतपरिणाम घोषणा गरिने वरिष्ठ अधिवक्ता सिटौलाको भनाइ छ।