
२८ चैत, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १२५ प्रतिशत आयात कर थप गर्ने घोषणा गरेपछि चीनले कडा प्रतिक्रिया जनाएको छ। बीबीसीका अनुसार, चिनियाँ अधिकारीहरूले “चुप लागेर नबस्ने” चेतावनी दिएका छन्।
यसअघि पनि अमेरिकाले चीनमाथि ३४ प्रतिशत कर लगाएको थियो, जसको जवाफस्वरूप चिनियाँ अर्थ मन्त्रालयले अमेरिकी वस्तुहरूमा ५० प्रतिशत थपेर कुल ८४ प्रतिशत कर लगाउने निर्णय गरेको थियो। पछिल्लोपटक ट्रम्पको १२५ प्रतिशत करवृद्धिको घोषणालाई चीनले आर्थिक युद्धको गम्भीर कदमका रूपमा लिएको छ।
राष्ट्रपति ट्रम्पले अन्य देशहरूमाथि लागु हुने प्रस्तावित कर भने हालका लागि स्थगित गर्ने बताएका छन्। चीनबाहेक अन्य राष्ट्रहरूका लागि कम्तीमा ९० दिनसम्म करवृद्धि कार्यान्वयन नगर्ने निर्णयपछि एसियाली शेयर बजारमा सुधार देखिएको छ।
विश्वव्यापी रूपमा अमेरिकाको यो निर्णयको चौतर्फी आलोचना भइरहेका बेला चीन र अमेरिकाबीचको व्यापार तनाव अझ चर्किने संकेत देखिएको छ।
विश्लेषकहरूका अनुसार, यदि दुबै देशहरूबीच समझदारीको बाटो खोजिएन भने, यसले विश्वव्यापी अर्थतन्त्रमा दीर्घकालीन असर पुर्याउन सक्छ।