Logo

२८ चैत, काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले कीर्तिमानी प्रदर्शन गर्दै कुवेतमाथि ६ विकेटको सानदार जित निकालेको छ। यस जितसँगै नेपाल प्रतियोगितामा लगातार दोस्रो सफलता हात पार्दै फाइनल प्रवेशको सम्भावना प्रबल बनाएको छ।

बिहीबार सम्पन्न खेलमा कुवेतले दिएको १८६ रनको चुनौती नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्‍यो। टी–२० अन्तराष्ट्रिय क्रिकेटमा यो नेपालले सफलतापूर्वक पछ्याएको अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो ।

यसअघि नेपालले सन् २०२२ मा मलेसियाविरुद्ध १६६ रनको लक्ष्य पछ्याउँदै जित हात पारेको थियो ।

भुर्तेल–शेखको रेकर्ड साझेदारी
नेपालको जितमा ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले शानदार सुरुवात दिलाउँदै १२७ रनको ओपनिङ साझेदारी गरे। भुर्तेलले ८१ रनको उत्कृष्ट पारी खेले भने शेखले ५३ रन बनाए। यो साझेदारी टी–२०आई क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च ओपनिङ साझेदारी हो।

यसअघि सन् २०२१ मा नेदरल्याण्ड्सविरुद्ध नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो।

फिनिसिङमा ऐरीको धमाका
जितको आधार तयार पारिएको अवस्थामा, दिपेन्द्रसिंह ऐरीले १२ बलमा विस्फोटक ३१ रन बनाउँदै नेपाललाई सहज जितसम्म पुर्‍याए। कुवेतका यासिन पटेलले २ विकेट लिँदा मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिए।

कुवेतको चुनौतीपूर्ण प्रदर्शन
टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। कुवेतका क्लिन्टो एन्टोले ४१, मिट भावसरले ३५, बिलाल ताहिरले ३२ र रविजा सन्दरुवानले २६ रन बनाए।

१० ओभरमै ९७ रन जोडेर उत्कृष्ट सुरुवात गरे पनि कुवेतले अन्तिम ओभरहरूमा लगातार विकेट गुमाउँदा २०० रनको सम्भावित लक्ष्यबाट चुकेको थियो।

नेपालका बलरहरूको सामूहिक प्रदर्शन
नेपालका सोमपाल कामीले घातक बलिङ गर्दै ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए। ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट झारे।

फाइनलतर्फ नेपालको मजबुत कदम
प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई र कुवेतले हङकङलाई पराजित गरेका थिए। लगातार दुई जितसँगै नेपाल अब फाइनल प्रवेशको बलियो दाबेदार बनेको छ।


सम्बन्धित समाचार