
२८ चैत, वीरगञ्ज । बारा जिल्लाको बारागढी गाउँपालिका–४, सुखी टोलस्थित विश्वकर्मा पोल्ट्री फर्ममा गएराति परेको चट्याङका कारण भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
पोल्ट्री फर्मका सञ्चालक हरेन्द्र विश्वकर्माका अनुसार चट्याङ लागेर बिद्युत् तार सर्ट भई आगलागी हुँदा फर्ममा रहेको संरचना, सामग्री र कुखुरा जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ ।
त्यसैगरी, बारा कै करैयामाई गाउँपालिका–८ नरहीदेखि ईटहर जाने सडकखण्डमा पर्ने अभिनाष कुशवाहाको मकै खेतमा आज बिहान ३ बजे चट्याङ खसेको छ ।
घटनाका कारण खेत नजिकै रहेको कृषि मिटर, पानी तान्ने मोटर, टहरा र अन्य महत्त्वपूर्ण कृषि सामग्रीमा आगलागी भएर पूर्ण रूपमा नष्ट भएको जनाइएको छ ।
स्थानीय प्रशासनले लगातारको वर्षासँगै चट्याङ पर्ने क्रम बढेको हुँदा बारा र आसपासका क्षेत्रका किसान तथा स्थानीयहरूलाई उच्च सतर्क रहन आग्रह गरेको छ।