Logo

२८ चैत,बुटवल । लामो समयपछिको वर्षासँगै परेको चट्याङले लुम्बिनी प्रदेशका अर्घाखाँची र रोल्पामा एक÷एक जनाको ज्यान लिएको छ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० लिसेपानीमा बिहीबार बिहान करिब ९ बजेतिर चट्याङ लागेर ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

चट्याङ लागेर बेहोस भएका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाको पुष्टि गरेका छन्। प्रहरीका अनुसार घर्तीका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।

यसैगरी, रोल्पामा पनि चट्याङ लागेर एक १५ वर्षीया किशोरीको मृत्यु भएको छ। रोल्पा नगरपालिका–१० कुटिबाङकी ती किशोरीको बुधबार राति परेको चट्याङ लागेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ। उनी रोल्पाकै सुनिलस्मृति गाउँपालिकामा आफन्तको घरमा बस्न गएकी थिइन्।

वर्षासँगै आएको हावाहुरीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा घर तथा विद्यालयमा समेत क्षति पुगेको बताइएको छ। मौसम परिवर्तनसँगै प्राकृतिक विपत्ति पनि बढ्न थालेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।


सम्बन्धित समाचार