२८ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा फेरि राजसंस्था फर्काउने बहस समयको बर्बादी बाहेक केही नहुने बताएका छन् । एउटा मूर्ख लम्पटले राजा चाहिन्छ भन्दैमा कांग्रेस कार्यकर्ता बरालिन नहुने उनको भनाइ छ।
काठमाडौंको बूढानीलकण्ठमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले राजतन्त्रकै कारण देश पछि परेकोले फेरि पनि त्यो मूर्खतापूर्ण बहस गर्न नहुने बताएका हुन् ।
‘यो समय सम्हाल्ने समय हो, २०१७ सालमा बीपी कोइरालालाई तत्कालीन राजाले एड्भेन्चर नगरेको भए देश गरिबको सूचीमा होइन, धनी देशको क्लबमा हुन्थ्यो’, थापाले भने, ‘जननिर्वाचित प्रधानमन्त्रीलाई विनाकारण थुनेर राजतन्त्रले ३० वर्ष डुबायो । अब फेरि राजतन्त्रमा फर्किने गल्ती नेपालले गर्दैन ।’
राजसंस्थाको पक्षमा काठमाडौंमा आन्दोलन भएपनि काठमाडौंबाहिर कुनै प्रभाव नरहेको उनले बताए । राजा ल्याउनुपर्छ भन्नेलाई कांग्रेस कार्यकर्ताले सम्झाउनुपर्ने उनले बताए ।
‘नेपालको राजा कसैले धोएपनि संवैधानिक बनाउन सक्दैन, निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चायो, सुतेको नवराज सुवेदीलाई ल्याएर । नारायणहिटीमा भएको भए के हुन्थ्यो ?’ थापाले प्रश्न गरे, ‘एउटा मूर्ख लम्पट (दुर्गा प्रसाईं)ले राजा चाहिन्छ भन्दा कांग्रेस बरालिन मिल्छ ? यो उट्पट्याङ कामले फेरि समय खेर जाने भयो भन्ने चिन्ता छ ।’
राजसंस्था फर्किन सम्भव नभएपनि यस्ता बहसले देशको समय बर्बाद हुने उनको भनाइ छ । ‘मैले कीर्तिपुरको डाँडामा बसेर ३ लाख कमाउने कुरा गर्दा ठूलो व्यंग्यको विषय भयो, त्यो विषयमा बहस हुनुपथ्र्यो । फेरि राजतन्त्रको कुरा सम्भव छैन । कांग्रेस कार्यकर्ताले अलमलमा रहेकालाई बताउनुपर्छ’, थापाले भने ।

















