Logo

Screenshot

२८ चैत,पर्सागढी ।  पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटाङ्गामा आज बिहान आगलागी हुँदा स्थानीय सुरेश यादवको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहान आफ्नै फुसको घरमा बालेको आगो सल्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय एकटाङ्गाले जनाएको छ।

इलाका प्रहरी कार्यालय एकटाङ्गाका सई नवराज घिमिरेका अनुसार आगलागीबाट यादवको घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै आठ वटा बाख्राको मृत्यु भएको छ। घरमा रहेको लत्ताकपडा, धान, गहुँ, भाडावर्तनसहित नगद रुपैयाँ गरी करिब छ देखि सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

पर्सागढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामबढाई प्रसाद यादवले यादवको घर पूर्ण रूपमा जलेर नष्ट भएको पुष्टि गरेका छन्। उनले पर्सागढी नगरपालिकाको बारुणयन्त्र समयमा नपुग्दा ठूलो क्षति भएको बताए। वडा अध्यक्ष यादवका अनुसार बारुणयन्त्रका चालक र मेयरलाई पटकपटक फोन गर्दा पनि बारुणयन्त्र समयमा नपुगेपछि सखुवाप्रसौनी गाउँपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। पर्सागढीको बारुणयन्त्र ढिलो पुगेका कारण स्थानीयहरू आक्रोशित बनेका थिए।

यता, पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले आफूले जानकारी पाउनेबित्तिकै बारुणयन्त्रका चालक राजु चौधरीलाई आगलागी स्थलमा पुग्न भनेको तर चालक चौधरी शौचालय गएको कारण केही समय ढिलो हुन पुगेको बताएका छन्।

आगलागीबाट पीडित यादव परिवारलाई स्थानीय प्रशासन र नगरपालिकाले राहत उपलब्ध गराउने तयारी गरिरहेको बताइएको छ।


सम्बन्धित समाचार