
२९ चैत, काठमाडौँ । २००८ मा भएको २६/११ मुम्बई आतङ्कवादी आक्रमणका मास्टरमाइन्ड मध्ये एक तहव्वुर राणा अमेरिका बाट भारत ल्याइएपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उनको पहिलो तस्बिर सार्वजनिक गरेको छ ।
एनआईएले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (पूर्व ट्विटर) मार्फत राणा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (IGI) आइपुगेपछि औपचारिक रूपमा पक्राउ गरिएको जानकारी दिएको हो । भारतले उनलाई बिहीबार अमेरिकी जेलबाट सुपुर्दगीमार्फत ल्याएको हो ।
लामो कानुनी प्रक्रापछि सुपुर्दगी
पाकिस्तानी मूलका क्यानाडेली नागरिक तहव्वुर राणा अमेरिकामा विगत केही वर्षदेखि कारावासमा थिए । सन् २०१३ मा उनलाई अमेरिकामा मुम्बई हमला र डेनमार्कको कोपेनहेगनस्थित एक अखबार कार्यालयमा आक्रमणको योजना बनाएको अभियोगमा दोषी ठहर गरिएको थियो ।
उनलाई सन् २००९ मा एफबीआईले शिकागोबाट पक्राउ गरेको थियो । भारतले त्यसयता उनको सुपुर्दगीको लागि निरन्तर पहल गर्दै आएको थियो । मुम्बई आक्रमणमा संलग्न रिचर्ड हेडलीको बयानका आधारमा राणामाथि भारतले मुद्दा दर्ता गरेको हो ।
आतंकको काला दिन: २६/११ को हमला
सन् २००८ नोभेम्बर २६ मा पाकिस्तानस्थित लश्कर-ए-तैयबा आतङ्ककारी समूहका १० सदस्यले समुद्रमार्ग हुँदै भारत प्रवेश गरी मुम्बईका विभिन्न स्थानहरू—ताज महल प्यालेस होटल, ओबेरॉय ट्राइडेन्ट, नरीमन हाउस, छत्रपति शिवाजी टर्मिनस जस्ता स्थलहरूमा चार दिनसम्म आतंक मच्चाएका थिए ।
यस आतङ्कवादी आक्रमणमा ९ आतङ्ककारीसहित १७५ जनाको ज्यान गएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए । विश्वकै ध्यान तान्ने यो घटना भारतको इतिहासमा सबैभन्दा भयावह आतङ्कवादी हमलामध्ये एक मानिन्छ ।
अबको प्रक्रिया
भारत ल्याइएपछि तहव्वुर राणामाथि एनआईएले विस्तृत अनुसन्धान गर्ने तयारी गरेको छ । उनको भूमिका, सम्बन्धित सम्पर्कहरू, र आतङ्ककारी सञ्जालबारे थप जानकारी लिने उद्देश्यले अब छानबिन अघि बढाइनेछ ।
सरकारी स्रोतका अनुसार, राणाविरुद्ध आतंकवादसम्बन्धी कानून अन्तर्गत अभियोग दर्ता भइसकेको छ र विशेष अदालतमा पेश गरिने तयारी भइरहेको छ ।