
२९ चैत,काठमाडौं । भारतको बिहार राज्यका विभिन्न जिल्लामा आएको भीषण आँधीबेहरी र चट्याङका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। बिहार मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सबैभन्दा बढी मानवीय क्षति नालन्दा जिल्लामा भएको छ, जहाँ १८ जनाले ज्यान गुमाएका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार नालन्दा बाहेक सिवानमा २ जना, कटिहार, दरभंगा, बेगुसराय, भागलपुर र जेहानाबादमा १–१ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार आँधीले सबैभन्दा बढी प्रभाव नालन्दा जिल्लामा पारेको छ। दुःखद कुरा, यहाँ ६ जनाको मृत्यु त रूख ढलेर मात्रै भएको बताइएको छ।
बिहारका मुख्यमन्त्री नीतीश कुमारले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन्। मुख्यमन्त्री कुमारले प्रत्येक मृतक परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने घोषणा पनि गरेका छन्।
यस विपत्तिको लगत्तै मुख्यमन्त्रीले राज्य विपद् व्यवस्थापन विभागलाई राहत र उद्धार कार्यमा कुनै पनि ढिलाइ नगरी तत्काल परिचालन हुन निर्देशन दिएका छन्। सरकार पीडित परिवारलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताइएको छ।