२९ चैत,काठमाडौं । म्यान्मामा केही साताअघि गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि दुई हप्ताको अवधिमा ११२ वटा परकम्प गएको तथ्याङ्क सार्वजनिक भएको छ।
म्यान्माको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चैत १५ देखि चैत २८ गते बिहीबारसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका ११२ वटा परकम्प रेकर्ड भएका हुन्।
गत मार्च २८ तारिखमा गएको शक्तिशाली भूकम्पका कारण म्यान्मामा ठूलो मानवीय क्षति भएको छ। त्यहाँको सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भूकम्पमा परी ३ हजार ६४५ जनाको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।
राज्य प्रशासन परिषद्को सूचना टोलीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मृतकको संख्या ३ हजार ६४५ पुगेको र ५ हजार १७ जना घाइते भएको उल्लेख छ। विज्ञप्तिमा अझै १४८ जना मानिस हराइरहेको जानकारी पनि दिइएको छ।

















